जसपाले संविधान दिवसको बहिष्कार गर्ने

सत्तारूढ गठबन्धनमा सामेल रहेको जनता समाजवादी पार्टी जसपा संविधान दिवसको विरोधमा सडकमा जाने भएको छ। सरकारले संविधान दिवस मनाउँदै गर्दा गठबन्धनमा सामेल भएको जसपा विरोधमा जाने भएको हो । जसपा अध्यक्ष उपेन्द्र यादवले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान दिवसको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

संविधानले जनआन्दोलन, जनयुद्ध, ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनहरूको बेलामा सरकारसँग भएका सम्झौताहरू, अन्तरिम संविधानमा भएका प्रावधानहरू, पहिलो संविधानसभामा सर्वसम्मत भइसकेका विषयहरू तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ।

‘संविधान नै नमानेको होइन, तर अझै हामीलाई विभेद गरेको छ’ ‘सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपूरो एवम् त्रुटिपूर्ण नेपालको संविधान २०७२ ले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारू, अल्पसंख्यक समुदायहरूका साथै उत्पीडित जात जाति एवं समुदायहरूले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरूलाई सम्वोधन गर्न सकेको छैन’ अध्यक्ष यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

संविधानमा संघीयता, समावेशी लोकतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, स्वशासन र स्वायत्तता, समानुपातिक समावेशीकरण लगायतका प्रावधानहरू पनि अधुरो र अपूर्ण भएको जसपाको ठहर छ।

संविधानमा धेरै धाराहरूमा विभेदकारी प्रावधानहरू राखिएको हुँदा सरकारले घोषणा गरेको संविधान दिवस २०७८ मा पनि भाग नलिने घोषणा गरेको छ। संविधानमा रहेका विभेदकारी प्रावधानहरूको विरोध गर्न आम जनसमुदाय एवम् सम्पूर्ण पार्टी संगठनहरूलाई आह्वानसमेत गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार