चाडपर्वका लागि सुपथ पसल १ असोज देखि सञ्चालन हुने

चाडपर्वका समयमा व्यापारीहरुले कालोबजारी गरि सर्वसाधारण नागरिकलाई दैनिक उपभोग्य वस्तुमा ठगी गर्ने प्रवृत्तिलाई पुर्णरुपमा निरुत्साहित गर्न सरकारले संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।

साथै बैठकले विगत वर्षहरुमा झै यसवर्षको प्रमुख चाडपर्वमा पनि अत्यावश्यक उपभोग्य वस्तुहरु सहज तथा सर्वसुलभ रुपमा उपलब्ध गराउनका लागि आगामी २०७८ साल १ असोज देखि सुपथ मूल्यपसल सञ्चालन गर्ने निर्णय गरेको छ । १ असोज देखि शुरु भई छठ पर्व पछिको एक हप्ता सम्म सञ्चालन हुने सुपथ मूल्य पसलको व्यवस्थापनको जिम्मेवारी उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयलाई दिइएको छ ।

मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा आइतबार बसेको केन्द्रिय अनुगमन तथा मूल्याङ्कन समितिको ५७ औ बैठकले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व दशै तिहार र छठलाई समेत लक्षित गरि त्यस्तो निर्णय गरेको हो ।

विभिन्न सरोकारवाला मन्त्रालयका सचिव लगायत उच्च पदाधिकारीहरु सम्मिलित सो बैठकले चाडपर्व तथा अन्य समयमा समेत संयुक्त बजार अनुगमनलाई व्यवस्थित गर्न उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयले अन्य निकायको समन्वयमा १५ दिनभित्र कार्ययोजना बनाई पेश गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार