लगातार ६ घण्टादेखि उपत्यकामा भारी वर्षा , काठमाण्डौका धेरै ठाउँ जलमग्न

गएरातिदेखि परेको ठूलो वर्षाका कारण काठमाण्डौ उपत्यकाका धेरै ठाउँ जलमग्न भएका छन् । रातोपुल, कालोपुल, बल्खु लगायत खोलाको किनार क्षेत्रका करिडोर जलमग्न भएका छन् भने वाग्मती नदीमा आएको बाढीले बल्खुमा पार्किङमा राखेको ५, ६ वटा साना गाडी बगाएको प्रहरीले जनाएको छ । बल्खुको फलफूल तरकारी बजार पनि डुबानमा परेको छ ।

अहिले त्यहाँ सामान हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । यस्तै, काठमाण्डौको टेकुमा रहेको परोपकार क्षेत्रको सुकुम्बासी बस्ती पनि डुबानमा परेको छ ।

लगातार ६ घण्टाको वर्षाले काठमाडौँको बागमती, विष्णुमति, टुकुचा, धोविखोला महनोहरा, हनुमन्तेलगायतमा ठूलो बाढी आएको छ ।

बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो।

त्यस्तै हनुमन्ते खोलका कारण भक्तपुरका धेरै स्थान जलमग्न हुन पुगेका छन् भने मनोहरा खोलाका कारण मुलपानी, विस्टगाउँ, काडाघारी लगायत स्थानमा डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्रीनगर तथा ढुंगेअड्डाका खोला किनारमा रहेका अधिकांश घरहरुको भूइँतलामा बाढी पसेको छ ।

सडकका धेरै ठाउँ पनि जलमग्न भएका छन् । सडक खोलो र पोखरीजस्तो भएपछि पैदल हिँड्न र गाडी गुडाउन पनि समस्या भएको छ । काठमाण्डौसँग जोडिएको काभ्रेको बनेपा बजार पनि जलमग्न भएको छ । वर्षाका कारण त्यस क्षेत्रमा पर्ने अरनिको राजमार्ग जलमग्न भए पनि बनेपाको पुलबजारबाट गाडी डाइभर्सन गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार