गठबन्धनकै नेताहरुको आक्रोशबाट घेरिए देउवा, एमसीसी एजेण्डामा प्रचण्ड मौन

सरकार गठन गरेको दुई साता निबित्दै जनस्तरबाट आलोचना खेप्न थालेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो गठबन्धनका नेताहरुबाट पनि आलोचनाको सिकार भएका छन्।

देउवाले सरकार सम्हालेपछि बुधबार लामो समयसम्म बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा नेताहरुका प्रश्नहरुबाट घेरिन पुगेका छन्।

सरकारमा आएलगत्तै केपी ओलीले जस्तो विवादास्पद निर्णय गरेको आरोप खेपेका देउवाले व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि गठबन्धनका नेताहरु असन्तुष्ट भएका थिए।

त्यसको स्पष्ट दृश्य उनले बुधबार बालुवाटारमा राखेको बैठकमा देखिएको छ। बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक राई, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र दुर्गा पौडेल, एमाले माधव नेपाल पक्षबाट उपस्थित भएका विजय पौडेल लगायतका नेताहरुले गठबन्धनसँग सल्लाह नगरी एकलौटी रुपमा व्यापारी श्रेष्ठलाई मन्त्री बनाएकोमा चर्को असन्तुष्टि जनाएका थिए।

राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीले प्रधानमन्त्री देउवाले सरकारमा आएको पहिलो प्रहरमै गल्ती गरेको भन्दै आपत्ति जनाएका थिए।

उनले बैठकमा भनेका थिए, ‘तपाईंलाई हामीले ठूलो भरोसा गरेका छौँ। केपी ओली प्रवृति नदोहोर्‍याउनुस्। हरेक निर्णय गठबन्धनसँग सल्लाह गरेर मात्र लिनुस्। हैन भने हामीले विरोध गर्नुपर्ने अवस्था आउने छ।’

बैठकमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले सरकारले खोपलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी थिइन्। ‘सबै नागरिकको पहुँचमा खोप नपुग्नु अहिलको समस्या हो। सरकारले यो कामलाई प्राथमिकताका साथ गर्नुपर्छ। खोप लगाउँदा नागरिकले अनावश्यक सास्ती व्यहोरेका छन्। त्यो अन्त्य हुनुपर्छ,’ उनी बैठकमा भनिन्।

केसीकै समर्थनमा उत्रिँदै माओवादी उपाध्यक्ष श्रेष्ठले सरकारलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताएका थिए। उनले भने, ‘यो सरकारलाई कुनै पनि गल्ती गर्ने छुट छैन। सानोसानो गल्ती हुनबाट पनि जोगिनुपर्छ। मनोमानी गर्न पाइँदैन।’

श्रेष्ठलाई मन्त्री बनाएकोमा जसपाका नेताहरु र माधव नेपाल समूहका पौडेलले पनि आपत्ति जनाएका थिए। पौडेलले भने, ‘यो सरकार संकटपूर्ण अवस्थामा बनेको हो। शत प्रतिशत जनताको स्वास्थ्यमा ध्यान दिनुपर्ने अवस्था छ।’

यस्तै बैठकमा एमसीसीको विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ। सरकारले एमसीसी पारित गर्न खोजेमा आफूहरुले विरोध गर्ने जनमोर्चाका नेताहरुले चेतावनी दिएका छन्।

जनमोर्चाका अध्यक्ष केसी र उपाध्यक्ष पौडेलले आफूहरु एमसीसीको पक्षमा नरहेको र त्यो पारित गर्न नहुनेमा जोड दिएका थिए। केसीले भने, ‘सरकारले एमसीसी पारित गर्न खोजे हामी विरोध गर्नेछौँ। हामी गठबन्धनमा रहेको औचित्य रहँदैन।’

जनमोर्चाले एमसीसीको विरोध गर्दैगर्दा पहिले एमसीसीको विपक्षमा रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने मौन रहे। त्यस मामिलामा नेता श्रेष्ठले पनि केही बोलेनन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरुको आक्रोश र सुझाव सुनिसकेपछि आफूले अब गल्ती नगर्ने प्रतिवद्धता जनाएका छन्। उनले नेताहरुका अघि भने, ‘गल्ती भइहाल्यो। अबदेखि विचार गर्छु।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार