आजदेखि एक मात्रा लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाईँदै

अमेरिकाले उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप असार २८ गते नेपाल आइपुगेको हो। एक मात्रा मात्रै लगाए पुग्ने कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप सोमबारदेखि लगाईँदैछ।

अमेरिकाले कोभ्याक्स अभियान अन्तर्गत नेपाललाई उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको खोप सोमबारदेखि देशभर दिन लागिएको हो। खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेक देशभरका सबै स्थानमा जोन्सन एण्ड जोन्सन खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो।

अमेरिकाले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको खोपको १५ लाख ३४ हजार ८५० मात्रा उपलब्ध गराएको हो। सो खोप असार २८ गते काठमाडौँ आइपुगेको थियो।

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सरसफाइकर्मी लगायतलाई दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

जोन्सन एण्ड जोन्सन खोपका लागि काठमाडौँमा ४४ वटा खोप केन्द्र निर्धारण गरिएको छ। आउँदो बुधबारसम्म यो खोप लगाइने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार