आज असार १५, देशभर धान दिवस मनाइँदै , कर्णालीमा सार्वजनिक बिदा

आज देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ । यस वर्षको दिवसमा सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक कार्यक्रम गरिने छैन ।

कोरोना महामारी जारी रहेकाले सकेसम्म सरकारी फार्म भित्रै सीमित गरेर दिवस मनाइने तयारी गरिएको छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ ।

नेपालमा कुल कृषि उत्पादनमा धानको उत्पादन आधा हुने तथ्यांक छ । आर्थिक वर्ष २०२०/२१ को तथ्यांकले धान उत्पादनमा वृद्धि भएको देखाएको छ । १४ लाख ७० हजार हेक्टर जमिनमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक छ ।

धानले नेपालको कुल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ । धानले कुल कृषिको ग्राहस्थ उत्पादनमा २१ प्रतिशत र कुल ग्राहस्थ उत्पादनमा ७ प्रतिशतको योगदान गर्छ ।

नेपालमा धानको आयात बढ्दै गएको छ । चालु आर्थिक वर्षको ११ महिनामा ४८ अर्ब १४ करोडको धान आयात भएको भन्सार विभागको तथ्यांक छ । यो गत आर्थिक वर्षको तुलनामा ५६ प्रशितले वृद्धि भएको हो । यो आयात कुल आयातको ३.४८ प्रतिशत हो । अझै एक महिनाको तथ्यांक आउन बाँकी भएकाले वर्षमा ५० अर्बको धान आयात हुन थालेको देखिएको छ ।

यसैबीच असार १५ लाई दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् ।

खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही चिउरा खाएर असार १५ मनाउँछन् । दही चिउराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

वि.सं. २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

यता राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा बिदा दिइएको हो ।

कर्णालीका १० जिल्लामध्ये जुम्ला बाहेक नौ जिल्लाका सबै सरकारी कार्यालय तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार