महतोले पनि छाडे महन्तलाई , ओलीलाई विश्वासको मत नदिने

जनता समाजवादी पार्टी (जसपा )भित्र अहिले बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने र नदिने विषयमा विवाद चर्किंदो छ ।अध्यक्ष महन्त ठाकुर पक्ष प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार टिकाउन चाहन्छ । उता भट्टराई–यादव पक्ष भने कुनै पनि हालतमा ओली नेतृत्वको सरकार ढालेर वैकल्पिक सरकार बनाउनुपर्ने बताउँदै आएको छ । यो समूहले त प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय पनि गरिसकेको छ ।

केही दिनअघि सम्म अध्यक्ष ठाकुरको पक्षमा खुलेका वरिष्ठ नेता राजेन्द्र महतो अहिले भने भट्टराई–यादव पक्षमा खुलेका छन् । महतोले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताउन थालेका हुन् । ‘संघीय परिषद् अध्यक्ष भट्टराई अस्पतालमा हुनु भएकोले उहाँसँगको सल्लाहमै अध्यक्ष यादवले वरिष्ठ नेता महतोसँग पछिल्लो समय नियमित छलफल गर्नु भयो,’ जसपाका एक नेताले भने, ‘महतोजीले पनि प्रधानमन्त्रीको प्रतिगमनकारी कदमलाई साथ नदिने बताउनु भएको छ ।’

उनका अनुसार यादव र महतोले अन्य सांसदसँग पनि नियमित छलफल गरिरहेका छन् । यसअघि अध्यक्ष ठाकुरसँग पटक–पटक प्रधानमन्त्री ओलीसँग वार्ता गरेका महतोले क्याम्प परिवर्तन गरेसँगै महन्थ थप समस्यामा परेका छन् । भट्टराई–यादव पक्षले कार्यकारिणी बैठक बसेर बहुमतबाट निर्णय गरी अविश्वासको प्रस्तावमा मत हाल्ने निर्णय गरिसकेको छ । यसमा अब महतो पनि मिसिएका छन् ।

‘सरकारको तर्फबाट सम्बोधन हुनुपर्ने धेरै कुरा सम्बोधन हुने देखिएन,’ जसपाका अर्का नेताले भने, ‘महतो मात्रै होइन अरु सांसद पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन हुन्न भन्नेमा पुग्नु भएको छ । पार्टीमा पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिन नहुने मत धेरै छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार