राष्ट्रियसभा सदस्यमा थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा (एमाले)का केन्द्रीय सदस्य रामबहादुर थापाले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा शुक्रबारर उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत रहेका छन्।

गृहमन्त्री थापा आज आफ्नो मनोनयनपत्र दर्ता गर्न हेलिकोप्टरबाट हेटौँडा आइपुगेका हुन्। सो पदमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) लगायत दलका समर्थनमा डा. खिमलाल देवकोटाले पनि उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडाले जनाएको छ ।

सङ्घीयताविद् डा. देवकोटाका प्रस्तावकमा माओवादी केन्द्र, वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र समर्थकमा कांग्रेस वाग्मती प्रदेशका प्रमुख सचेतक राधा घले रहेका छन्।

वाग्मती प्रदेशसभामा ६६ निर्वाचन क्षेत्रका ११९ स्थानीय तहका प्रमुख उपप्रमुख २३८ र वाग्मती प्रदेशसभा सदस्य ११० जना गरी कूल ३४८ मतदाता रहेको प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उनका अनुसार आगामी जेठ ६ गते हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित भुटनदेवी मावि भवनमा दुई मतदान केन्द्र रहने गरी व्यवस्थापन मिलाइएको छ । एउटा स्थानीय तहका लागि र अर्को प्रदेश सभा सदस्यका लागि केन्द्र निर्धारण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार