एमालेमा लागेका एक मेयर र चार उपमेयरलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा (माओवादी केन्द्र)ले आफ्ना चार जना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ।नेकपा माओवादीबाट निर्वाचित भए पनि एमालेमा लागेको भन्दै धनुषाका चार स्थानीय तहका एक मेयर र तीन जना उपमेयरलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिइएको छ।

धनुषाका विदेह नगरपालिकाका प्रमुख बेचन दास, शहीदनगर नगरपालिकाका उपप्रमुख शिला देवी कापर, सबैला नगरपालिकाका उपप्रमुख निलुदेवी कापर र विदेह नगरपालिकाकै उपप्रमुख निलम देवी मण्डलसँग स्पष्टीकरण सोधेको माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादवले बताए।

चारै जना जनप्रतिनिधिलाई सोमबार पत्र पठाइएको छ। यादवले पार्टी एकता खारेज भएर पहिलेकै अवस्थामा गइसके पनि उनीहरूको सक्रियता माओवादीमा नभएर एमालेका कतिपय कार्यक्रमहरुमा देखिएकोले स्पष्टीकरण सोधेको बताए। सचिव यादवले तीन दिनभित्र लिखित स्पष्टीकरण जिल्ला कार्यालयमा पेस गर्न भनेका छन्।

स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका ईन्चार्ज योग कुमार बरबरिया यादव (जीवन) र जिल्ला सचिव दिपक यादवको संयुक्त हस्ताक्षर रहेको छ।

यता विदेह नगरपालिकाका नगरप्रमुख बेचन दासले पार्टी एकता कायम रहेसम्म आफू नेकपाको कार्यक्रमहरुमा सहभागी भएपनि सर्वोच्चको फैसलापछि एमालेका कुनै कार्यक्रममा सहभागिता नजनाएको बताए।

उनले पार्टीद्वारा सोधिएको स्पष्टीकरणलाई सकारात्मक रुपमा लिएको र यसको जवाफ भोलि नै पठाउने बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार