अत्यावश्यक वस्तु अभाव हुन नदिने सरकारी दाबी

सरकारले बजारमा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज बनाउनका लागि तयारी सुरू गरेको छ । यस क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीसहित अत्यावश्यक सेवा प्रदायक निकायका प्रतिनिधिसँग छलफल सुरू गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आइतबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्शलगायतका निजी क्षेत्रका व्यवसायीलाई बोलाएर अत्यावश्यक वस्तुको अवस्थाका बारेमा छलफल गरेका थिए । निजी व्यवसायीसँग अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने मन्त्रालयले जानकारी दिएको छ ।

निजी क्षेत्रका प्रतिनिधिले बजारमा अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेकाले अभाव नहुने जानकारी गराएको मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । आपूर्ति व्यवस्थालाई कसरी सहज गराउने भनेर पूर्वतयारी भएको उनको भनाइ छ । निजी व्यवसायीसँग खाद्यान्नको मौज्दात कति छ भनेर एकिन नभएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग २४ हजार मेट्रिक टन चामल चामल मौज्दात रहेको उनको भनाइ छ । साल्ट्र ट्रेडिङ्ग कर्पोरेशनसँग पनि पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको जानकारी दिएको छ ।

नेपाल आयल निगमको पेट्रोलियम पदार्थको मौज्दात पर्याप्त रहेकाले अभाव नहुने बताएको छ । निगम प्रवक्ता बीनितमणि उपाध्यायले पेट्रोलियम पदार्थको मौज्दात ८० प्रतिशत रहेकाले अभाव नहुने बताए । कोभिडको संक्रमण बढ्दै गएपछि बजारमा व्यवसायीले अत्यावश्यक वस्तुमा कृत्रिम अभाव गराएर कालोबजारी गर्न सक्ने हुन्छन् । व्यवसायीले बजारमा स्यानिटाइजर, मास्कमा कृत्रिम अभाव गराउन थालेका छन् । बढी मूल्यमा बिक्री गर्नका लागि लुकाएर अभाव देखाउन थालेका हुन् ।
यसैबीच नेपाल एलपी ग्यास उद्योग सघंले कोरोना महामारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई आग्रह गरेको छ । महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर संघले खाली सिलिण्डर भर्न आग्रह गरेको छ ।
अहिले ग्यास आपूर्ति नियमित रुपमा भइरहेकाले अभाव नभएको संघले जानकारी दिएको छ । हाल नेपालभर दैनिक एक लाख सिलिण्डर ग्यासको माग रहेको छ । ग्यास उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ । उद्योगीसँग कुल भण्डारणको ८० प्रतिशत एलपी ग्यासको मौज्दात रहेको संघको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार