३८१ लाई ‘लोकतान्त्रिक योद्धा’ सम्मान

लोकतान्त्रिक आन्दोलनमा लागे पनि राज्यबाट उचित कदर नभएको भन्दै गुनासो गरिरहेकालाई सरकारले ‘लोकतान्त्रिक योद्धा’ का रूपमा सम्मान गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका बहिर्गमित पूर्वलडाकुसहित जनआन्दोलन, सशस्त्र द्वन्द्व र मधेस आन्दोलनमा ज्यान गुमाएकाका परिवार र घाइते तथा अंगभंग भएका करिब साढे तीन सयलाई बुधबार ‘लोकतन्त्रका योद्धाका रूपमा सम्मान गरे ।

राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । काठमाडौं उपत्यकाबाहिरको हकमा प्रमुख जिल्ला अधिकारीहरूले सम्मान गरे । यो सम्मानबाट ९ हजार जतिलाई समेट्ने लक्ष्य छ । उनीहरूलाई सम्मान गर्नकै लागि गत चैतको पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको थियो । जिल्लामा प्रजिअको संयोजकत्वमा ‘लोकतन्त्रका योद्धा अभिलेखीकरण तथा सम्मान समिति’ गठन गरिएको थियो । समितिबाट आएका विवरणका आधारमा सम्मान हुनेको सूची गृह मन्त्रालयले तयार गरेको थियो ।

तत्कालीन नेकपामा प्रधानमन्त्री ओली घेराबन्दीमा पर्न थालेपछि विभिन्न पक्षका व्यक्तिलाई प्रभाव पार्ने क्रममा विशेष गरी तत्कालीन माओवादीका पूर्वलडाकुसँग नजिकिएका थिए । त्यही योजनालाई अलि विस्तार गरी सरकारले सबै लोकतान्त्रिक आन्दोलनका योद्धा र घाइतेहरूलाई सम्मान गर्ने ढाँचा तयार गरेको हो । गृह मन्त्रालयका अनुसार नेपालमा सहिदको संख्या १२ हजार बढी छ । त्यसमध्ये ९ हजारभन्दा बढीका परिवारलाई सरकारले १० लाख रुपैयाँका दरले राहत दिइसकेको छ  । ७ सय ५५ जनाले सरकारबाट मासिक जीवन निर्वाह भत्ता लिइरहेका छन् । समाचार कान्तिपुर दैनिकमा प्रकासित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार