तेह्रौं शताब्दीको टुँडालसहितका सम्पदा नेपाल फर्काइँदै

तेह्रौं शताब्दी आसपासका प्राचीन नेपाली सम्पदा अमेरिकाको न्युयोर्कमा भेटिएको चार वर्षपछि अदालती प्रक्रियाबाट ‘उत्पत्ति र आधिकारिकता’ प्रमाणित गरेर चाँडै घर फर्काइने भएको छ । नेपालसहितका मुलुकबाट चोरी गरी अमेरिका पुर्‍याइएका प्राचीन सम्पदा भारतीय मूलका एक अन्तर्राष्ट्रिय व्यापारीको संग्रहमा पाइएको थियो ।

त्यसबारे अनुसन्धान र कानुनी प्रक्रिया अवलम्बन गर्दै न्युयोर्कस्थित न्यायाधिवक्ता कार्यालयले नेपालका सम्पदा फर्काउने भएको हो । पन्ध्रौं–सोह्रौं शताब्दीको मानिने भुइँमा बसेका गणेश, चौधौं–पन्ध्रौं शताब्दीको मानिने भूमिस्पर्श मुद्राका बुद्ध र १३ औं शताब्दीको काठमा कुँदिएको अप्सरा आकृतिको सम्पदा नेपाललाई हस्तान्तरण गरिएको छ । न्युयोर्कमा बिहीबार आयोजित कार्यक्रममा न्युयोर्कस्थित कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्युयोर्कका जिल्ला न्यायाधिवक्ता साइरस भान्स जुनियरले यी सम्पदा नेपाललाई हस्तान्तरण गरिएको सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

न्युयोर्क, म्यानहटन जिल्ला न्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार सुवास कपुर नामका व्यक्तिको संग्रहमा २५ सयभन्दा बढी प्राचीन सम्पदा र पुरातात्त्विक संग्रह पाइएकामा गत सातामात्रै अनुसन्धान पूरा भएर केही सम्पदा श्रीलंका र इजिप्ट फिर्ता पठाइएको थियो । चोरिएका, लुटिएका वा तस्करी गरिएका यस्ता सांस्कृतिक सम्पदाको ‘उत्पत्ति आधार र प्रामाणिकता’ पहिल्याउन कानुनी प्रक्रियामै वर्षौं लाग्ने गर्छ । यस पटक चार वर्ष लामो अदालती प्रक्रियाबाट नेपालका सम्पदा फर्काउन लागिएको हो । समाचार कान्तिपुर दैनिकमा प्रकासित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार