चिठी : अख्तियार किन, हाउगुजी मात्रै ?

  नारायणप्रसाद न्यौपाने

सम्माननिय अख्तियार प्रमुख ज्यू !
अख्तियार दुरुपयोग तथा अनुसन्धान कार्यालय, काठमाडौं ।

‘व्यक्ति नामले होइन, काम र व्यवहारले चिनिन्छ’ भनेझैं यो मुलुकलाई भ्रष्टचार मुक्त बनाउने भनेर अख्तियार प्रमुखजस्तो जिम्मेवारी पदलाई सम्हाल्न थाल्नु भएकोमा यहाँलाई मुरीमुरी बधाई छ ।

सम्माननिय अख्तियार प्रमुख ज्यू ! शुरु शुरुको अवस्थामा त, यो कार्यालयको नामै सुन्दा पनि मान्छेहरुमा एक किसिमको त्रास नै भरिएको हुन्थ्यो । त्यो डर, त्रासले गाउँ, समाज र राष्ट्रमा नै कानुनप्रति आदर सम्मान गरिएजस्तो ठहरिन्थ्यो । अख्तियार भन्ने वित्तिकै समाजमा कस्तो उच्च सम्मान रहेको हुन्थ्यो । समाजका प्रत्येक जनमानसमा एक खालको त्रासदी भाव नै भरिएको थियो । समाजमा नेतादेखि कार्यकर्ता सम्मका हरेक व्यक्ति लगाममा बाँधिएका थिए । सबै अनुशासित भएजस्तो लाग्थ्यो ।

तर, हिजोआज किन हो कुन्नि, यो अख्तियार केवल हाउगुजी मात्रै भएको देखिन्छ । अख्तियार भनेको दुबै हातखुट्टा बाँधेर राखिएको शालिकजस्तो भएको प्रतीत हुन थालेको छ । गाउँघरमा सम्मानका साथ पूजाका लागि राखिएको गणेशको मूर्तिजस्तो आभास हुन्छ । यस्तो गरिमामय संस्था पनि आज किन यस्तो अवस्थामा पुग्यो ? हुँदाहुँदा त त्यही अख्तियारको पद पनि भ्रष्टाचारको सेटिङ्ग मिलाउने स्थलका रुपमा पनि चर्चा परिपर्चा हुन थाल्यो । अनि, त्यो भ्रष्टाचारबाट प्रमाणित भएका अख्तियार प्रमुख नै अकुत सम्पत्ति कुम्ल्याएको आरोपमा हत्कडी लगाएर बस्नुपर्ने अवस्था रहेको पनि ताजै रहेको छ । यहाँ जो जसले विगतदेखि यो संस्थालाई प्रदुषित र कलङ्कित नै बनाएको छ । कानुनलाई लिलामी गर्दै सबै उच्चतहका प्रभुहरुलाई कालो चस्मा लगाइदिएर रातारात मोटाउने र सुन्निने प्रवृत्ति बनेको छ भन्ने प्रमाणित नै गरिदिएको छ । अब, यस्तो संस्थालाई कसरी निर्मल र स्वच्छ बनाउन सक्नु हुन्छ ? कसरी यो फोहरको डङ्गुरले चुलिएको संस्थालाई सफा र निर्मल गर्नुहुन्छ त ?

विगतमा पनि यो अख्तियारले समाजमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई कुनै कार्वाही नै गरेको छैन भन्ने होइन । बेला बेलामा विभिन्न व्यक्तिहरुलाई रङ्गेहात पनि नसमातेको होइन, समातेर कार्वाही पनि गरेको छ । तर, ‘मैले पिटेझैं गर्छु, तँ रोएझैं गर’ भनेझै साना माछाहरु मात्र देखिए र समातिए । समाजमा हजार र दुइचार लाखेका मात्र फेला पर्ने । अरु ठुला माछा भने ‘आकाशको फल आँखा तरी मर’ भनेझैं समात्नै नसकिने, असाध्यै बलिया, फुत्त बाहिर उम्किहाल्ने चतुर ।

सम्माननिय अख्तियार प्रमुख ज्यू !  आफ्नै कार्यकर्तासँग आफू पनि सहभागी भएपछि भ्रष्टचारका काण्डहरुमा कसरी उनीहरुलाई कार्वाही गर्ने ? कसले कार्वाही गर्ने ?

 कानुनको थिति बस्न सक्नु पर्यो । कानुनको सम्मान गर्ने परिपाटी नेतादेखि कार्यकर्तासम्म रहनु पर्यो ।

हेर्नुहोस् त अख्तियार प्रमुखज्यू ! हिजो यो मुलुकमा जुत्ता र चप्पलमा डोरी गाँसेर हिँडेका नेताहरु आज करोडौंका गाडीहरुमा सवार गर्ने भएका छन् ।

 

सम्माननिय अख्तियार प्रमुख ज्यू ! एउटा इमान्दार र कुशल प्रशासकले जुनसुकै क्षेत्रमा कार्य गर्ने भए पनि आफ्नो जिम्मेवारीको बोध गरेको नै हुन्छ । तर, जिम्मेवारी भन्दैमा आफूलाई दिइएको समयावधिलाई मात्र पूरा गर्ने भन्ने हुँदैन । एउटा कुशल प्रशासकले आजको लागि मात्र होइन, भोलिको लागि पनि सोँच्ने गर्दछ । अनि, योजना बनाएर मात्र अगाडि बढ्न रुचाएको हुन्छ । अनुशासित रही आफ्नो दृष्टिकोणलाई सधैँ फराकिलो राख्न चाहन्छ । अनि, आफ्ना अगाडि आफूले देखेको र जानेको कार्यहरु गर्नका लागि आफ्ना हातहरु नकमाइकन सधैँ अग्रसर हुन चाहन्छ । कसैको करकाप वा प्रभावमा नपरी स्वतन्त्रपूर्वक न्यायिक दृष्टिले निसाफ गर्न चाहन्छ । कसैप्रति भेदभावको दृष्टि अँगाल्न चाहदैन । अनि, आफ्नो क्षेत्रमा रहेको शिष्टमलाई अझ बलियो बनाएर बाँध्न चाहन्छ । व्यक्ति नामले भन्दा पनि आफूले गरेका कार्यहरुबाट नै परिचित हुन सक्नुपर्छ भन्ने सोँच चिन्तन राखेको हुन्छ, होइन र अख्तियार प्रमुख ज्यू ?

सम्माननिय अख्तियार प्रमुख ज्यू ! सर्वप्रथम यो मुलुकको विकास निर्माणका खातिर घुस लिने र दिने दुबै प्रवृत्तिको अन्त्य हुनुपर्यो । यो मुलुकका प्रत्येक नागरिकमा कानूनको त्रास रहनु पर्यो । कानुनको थिति बस्न सक्नु पर्यो । कानुनको सम्मान गर्ने परिपाटी नेतादेखि कार्यकर्तासम्म रहनु पर्यो । जसलेगर्दा समाजका हरेक व्यक्ति कानुनको दायरामा बस्ने परिपाटी बन्न सकोस् । सत्ताको कुर्सीमा बसेपछि कसैप्रति दयाभाव र कृपाभाव राख्ने प्रवृत्तिको अन्त्य होस् । अनि, मेरो र तेरोको भावनाबाट सबैजना मुक्त हुने परिपाटी रहोस् । अनिमात्र पो मुलुक समृद्ध बन्न सक्ला त, होइन र ?

तर, यहाँ त जसको शक्ति उसको भक्ति भनेझैं जो सत्तामा पुग्छ त्यसपछि उसका भरौटे र चाटुकारहरुले खोस्रने काम गर्न थाल्छन् । दलाल प्रवृत्ति हावी भई नेतादेखि मन्त्रीसम्मका सबैलाई उनीहरुले नै नचाउने अवस्था रहन्छ । अनि, आफ्नै कार्यकर्तासँग आफू पनि सहभागी भएपछि भ्रष्टचारका काण्डहरुमा कसरी उनीहरुलाई कार्वाही गर्ने ? कसले कार्वाही गर्ने ? अलिकति कठोर दण्ड सजाएको व्यवस्था हुने हो भने त किर्नाले जस्तै चुस्ने प्रवृत्तिको त अन्त्य हुने थियो कि ?

सम्माननिय अख्तियार प्रमुख ज्यू ! कुनै पनि मुलुकको रथ हाँक्ने कुशल सारथि भनेकै राजनीतिक दलका नेता हुन् । तर हाम्रा नेताहरु आफ्नो राष्ट्र र राष्ट्रियताप्रति कहिल्यै चिन्तनशील भएको देखिएन, किन ? उनीहरु आफ्नो राष्ट्रियताप्रति भन्दा आफ्नो पार्टीप्रति नै बढी केन्द्रित भए । सत्तालोलुप र कुर्सीको खेलमा मात्र सधैँ अल्झिए । अनि, तेरो र मेरोको भागबन्डामा मात्र अल्झिदै अकुत सम्पत्ति कुम्ल्याउने खेलमा लागिरहे । यिनीहरु यति भ्रष्ट हुँदा पनि यिनलाई कसैले छुन नसकेको हो किं ? छुनै डराएर हो ? या त्यो कार्वाही गर्ने निकाय नै त्यो भ्रष्टाचारको चङ्गुलमा सम्लग्न भएर हो ? केही जान्न र बुझ्नै सकिएन ।

सम्माननिय अख्तियार प्रमुख ज्यू ! हामी यो देशको विकास निर्माणमा लाग्नुपर्छ भन्ने भावनाका साथ सबै लाग्ने हो भने यहाँ के हुन सक्दैन ? मुलुकलाई जस्तो बनाउन चाह्यो त्यस्तै बन्नेथियो । हाम्रो देशमा के चिजको कमी छ र ? हामी आफ्नो मुलुकभित्र रहेका जे जति वस्तुहरु छन् तिनको सही रुपमा सदुपयोग गर्न नै सक्दैनौ र खोज्दैनौ । सधैँभरि विदेशीको मुख मात्रै ताकिरहन्छौं । विदेशीले सहयोग स्वरुप दिएर बनाइदिएका साधन र स्रोतको पनि संरक्षण र सम्बर्धन गर्न सक्दैनौ । अनि, कसरी मुलुकको उन्नति र प्रगति गर्न सक्दछौ ? जबसम्म मुलुक भित्रका सबै नागरिकलाई क्रियाशील बनाउने वातावरणको सृजना हुन सक्दैन र त्यो खालको चिन्तन र मनन हुँदैन ? तबसम्म यो मुलुकभित्र कुनै पनि उद्योग कल कारखानाको विस्तार पनि हुनै सक्दैन । अनि यस्तो अवस्था रहेपछि कसरी यो मुलुक समृद्धशाली बन्न सक्ला त ?
सम्माननिय अख्तियार प्रमुख ज्यू ! विकसित राष्टका नेताहरुलाई हेर्नुहोस् त ! उनीहरु कहिल्यै कसैको आड भरोसा नलिइकन पनि समाजमा सुरक्षित साथ विचरण गरिरहेका हुन्छन् । अनि, उनीहरु प्रति सम्पूर्ण जनमानसको कति आशा र विश्वास रहेको हुन्छ ? उनीहरुलाई कहिल्यै कसैको सुरक्षा तथा दलबल खोजेर हिँड्नु पर्ने स्थिति पनि रहदैन । कुनै विलासिताका साधनहरु जोड्नेतिर पनि उनीहरुको ध्यान गएको पाइदैन । उनीहरु व्यक्ति भन्दा पनि नियम कानूनलाई सर्वोपरी ठान्दछन् । आफ्नो सिद्धान्तलाई टेकेर सधैँ अगाडि बढ्छन् र त्यसमा नै अडिग रहेका हुन्छन् । अनि, उनीहरु सधैँ सफलताको शिखर चुम्न सक्षम रहेका हुन्छन् ।

तर, हाम्रा नेताहरुलाई हेर्नुहोस् त ! उनीहरु सधैँ व्यक्तिगत र पार्टीगत स्वार्थमा मात्रै अल्झिरहन्छन् । अनि, सधैँ साघुरो मनस्थिति बनाएर मात्र अगाडि बढ्न रुचाउँछन् । आफ्नो हित र अनुकूलतामा रमाउँदै आफू र आफन्त बाहेक अरु केही देख्न र सुन्न चाहदैनन् । कसैसँग छलफल गर्ने, राय सल्लाह लिने आदि गर्नै चाहदैनन् । मानौं मृत्युशैयामा जादा पनि आफूले जोडेको वा आर्जन गरेको सारा सम्पत्ति लिएर नै जाने हो किं जस्तो मनस्थिति बनाएर अगाडि बढेका हुन्छन् । त्यसैले त उनीहरु कतै जानु परे पनि लुकेर वा छिपेर मात्र हिँड्नुपर्ने परिस्थिति सृजना हुन्छ । ठूलो दलबलका साथ सुरक्षा लिएर जनताका अगाडि जानुपर्ने परिस्थिति बनेको हुन्छ । त्यसैले त कहिलेकाही आफ्नै कार्यकर्ताबाट पनि नेताहरु सुरक्षित हुन नसकेका यथार्थ घटनाहरु पनि सुन्न र देख्न पाइएका हुन्छन्, होइन र ?

यो मुलुक प्राचीन कालदेखि नै विदेशीको आड भरोसामा मात्रै अडिएजस्तो देखिन्छ । यहाँका शासकहरु कहिल्यै पनि आफ्नो राष्ट्रलाई स्वाधिन, स्वतन्त्र र आत्मनिर्भर बनाउने तर्फ क्रियाशील र चिन्तनशील भएको देखिनन् । कसैले सोँच र चिन्तन बनायो भने हातखुट्टा नै बाँधेर राख्ने परिस्थिति सिर्जना भयो । यो मुलुकमा परिवर्तनका खातिर होस् वा स्वतन्त्रताका नाममा होस् यहाँ थुप्रै आन्दोलनहरु पनि नभएका होइनन् । तर ती आन्दोलनबाट विभिन्न राजनीति दल परिवर्तन भए । नेताका पार्टी सङ्गठनहरु परिवर्तन भए । नेताहरुको आर्थिक तथा रहन सहनमा परिवर्तन भयो । उनीहरुको व्यक्तिगत स्वभावमा परिवर्तन भयो । तर, जसरी हरेक गाउँ, समाज र राष्ट्रमा परिवर्तन हुनु पर्ने हो, त्यसरी परिवर्तन हुनै सकेन ।

यहाँ राजनीतिक पार्टीका घोषणापत्र र दस्तावेजमा परिवर्तन गरे । आफ्नो अनुकूलताका नीति नियममा परिवर्तन गरे । तर आफ्नो मस्तिष्कलाई कहिल्यै परिवर्तन गरेनन् । नेताहरु आफू परिवर्तन हुने, र आफ्ना कार्यकर्तालाई परिवर्तन गराई आत्मनिर्भर बनाउने तर्फ कहिल्यै सोच र चिन्तन बनाएनन् ? अब, नेताहरुको यस्तो दरिद्र चिन्तन र सोँच भएपछि कसरी मुलुकको परिवर्तन हुन सक्ला त ?
यो मुलुकमा कहिल्यै कानुनको सम्मान हुने परिपाटी नै बस्न सकेन, किन ? जबसम्म कानुनको सम्मान गर्ने परिपाटी हुँदैन, तबसम्म नभएसम्म व्यक्ति कहिल्यै अनुशासित र लगनशील बन्न सक्तैन । अनि, कानुनलाई किन्ने र बेच्ने परिपाटी रहेपछि कसरी सुरक्षाको अनुभूति हुन सक्दछ ? यो भागबन्डे राजनीतिले मुलुक कहिल्यै उभो लाग्न सक्दैन ।

हेर्नुहोस् त अख्तियार प्रमुखज्यू ! हिजो यो मुलुकमा जुत्ता र चप्पलमा डोरी गाँसेर हिँडेका नेताहरु आज करोडौंका गाडीहरुमा सवार गर्ने भएका छन् । हिजो राजनीतिक यात्रामा लाग्दा अभाव र दरिद्रताको सामना गर्दै आफ्ना कार्यकर्तासँग दुई रुपियाँ मागेर सूर्ती खाने नेताहरुको बैक ब्यालेन्स आज करोडौं र अर्बौ रहेको छ । ठुलाठुला अपार्टमेन्टका मालिक बनेका छन् । ठुला ठेक्दारमा कहलिएका छन् । कमिसन बाडफाड गर्ने नाइके बनेका छन् । आखिर यो सबै भयो, कसरी ? अनि, यो स्रोत कहाँबाट आयो ? के यसबारेमा कुनै खोजतलास हुनु पर्दैन र ?

भनिन्छ, ‘चोरले चोर नै खोज्दछ’ र ‘अपराध गर्ने अपराधीले पनि आफूजस्तै साथीको साथ खोजेको हुन्छ’ भनेझैं यहाँ पनि के, सबै सेटिङ्ग नमिलाइकन त पक्कै पनि भएको छैन होला ? एकले अर्कोलाई साथ दिने बलियो शक्ति नभइकन त अवश्य भएको छैन, होला ? यस आधारमा पनि अपराध गर्ने अपराधीहरु खोज्दा भेटिएर भन्दा पनि आफ्नो र आफन्तलाई बचाउने प्रयासमा लाग्दा अपराधी र दोषी भन्ने प्रमाणित भए पनि कार्वाही नै गर्न नसकिएको पो हो किं ? यो, सम्पूर्ण जनमानसको चासोको विषय बनेको छ ।

सम्माननिय अख्तियार प्रमुख ज्यू ! भन्न सजिलो छ, तर व्यवहारमा उतार्न भने निकै कठिन हुनेछ । यो अख्तियारको सम्मानित पदमा यहाँको आगमनले धेरैको मुटुमा ढ्याङ्ग्रो ठोकिसकेको छ । हिजो विगतका शासकहरुलाई पनि ककसले कसरी फेल गराए या आफै फेल भएका थिए । यो भविष्यले बताउला ? तर, यहाँले विभिन्न पत्रिकामा दिएका अभिव्यक्तिले पक्कै पनि मन, मुटुलाई दह्रो बनाएर निष्पक्ष ढङ्गले र कसैको प्रलोभन वा करकापमा नपरी अपराधी प्रमाणित भएपछि कार्वाहीको ढोका खोली विभिन्न आक्षेपहरु लागेको यो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गरिमालाई बचाउन सफल हुनुहोस् । यो मुलुकमा सम्पत्तिको आश देखाएर कानुनको लिलाम गर्ने प्रवृत्तिको पनि अन्त्य गर्न सफल हुनुहोस् ।

अन्त्यमा, यो मुलुकलाई भ्रष्टाचार मुक्त बनाउने भनेर अख्तियार प्रमुखजस्तो जिम्मेवारी पदलाई सम्हाल्न थाल्नु भएकोमा यहाँलाई नेपाली जनताको तर्फबाट मुरीमुरी बधाई छ । अनि, आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा विगतका प्रमुखहरुको भन्दा पनि भिन्न पहिचान र भिन्न शैलीलाई कायम गरी यो मुलुकलाई भ्रष्टचारको क्रिडास्थल बनाउने गिरोहको जालोबाट पन्छाउदै भ्रष्टाचार गर्ने ठुला माछाहरु पनि समातेर दण्ड, सजाय दिने प्रवृत्तिको शुरुआत गराउन सफल हुनुहोस्, अनि, यो मुलुक भित्र माथिदेखि तलसम्मका प्रशासकदेखि विभिन्न राजनीतिक दलका नेता, कार्यकर्तासम्म भ्रष्टाचारको आरोप लागेमा कठोर सजाय भोग्नुपर्छ भन्ने बोध पनि गराउनुहोस् । अनि, सम्पूर्ण जनमानसलाई कानुनी राजको समेत अनुभूति गराउन सफल हुनुहोस् भन्ने असीम शुभकामना !!!

  •    नारायणप्रसाद न्यौपाने ,     सुनवल- १२,  नवलपरासी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार