हडताल, जूलूस-सभा यस्तो हुनुहुँदैन !

  • राजनीतिक नेतृत्वले युवामा कुसंस्कारको हडताल,सभा र आन्दोलनको लागि उक्साइरहेका छन् ।

 

  • बुटवलमा बलात्कार विरुद्धको आन्दोलनका लागि भनी बोलाएर पार्टीको झण्डा बोक्न लगाउदा विद्यार्थीहरु प्रतिकारमा उत्रिएको श्रव्यदृश्य सामाजिक संजालमा भाइरल भएको थियो।

 

  • सडक नाटक,नृत्य र साङ्केतिक तस्वीरहरुको प्रयोग गरेर पनि हामी हिंसात्मक आन्दोलनका जोखिमलाई न्यूनीकरण गर्न सक्छौं ।

 

विभिन्न समूह र राजनीतिक दलहरुले आफ्ना स्वार्थ र माग पूरा गर्न आयोजना गर्ने नेपाल बन्दले सामाजिक संजालमा राष्ट्रिय चाडको उपनाम पाउने गरेको छ। नेपालमा बन्द र हडताल साम्य भएको केही समय मात्र भएको थियो। प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभा विघटन भएदेखि विरोध र र्‍यालीका कार्यक्रमहरु दैनिकजसो भइरहेका छन् । कोभिड महामारीबाट भर्खर तङ्ग्रीदै गरेको अर्थतन्त्र र यसका आयामहरुमा यस्ता हडतालका कार्यक्रमहरुले उग्ररूप लिएमा दीर्घकालीन प्रभाव पार्ने देखिन्छ।

राजनीतिक पार्टीहरुले गर्ने आम हडतालमा रणनीति पुरानै शैली अपनाउने भएकाले सामाजिक संजालमा यसको विपक्षमा उभिनेहरुको जमात राम्रै भेटिन्छ यद्यपि र्‍यालीमा उपस्थित हुने मानिसहरुको संख्यामा पनि कुनै कमि रहदैन। प्रजातान्त्रिक मुलुकमा आमसभा र शान्तिपूर्ण विरोध गर्न पाइनु स्वभाविक हो तर सिमित राजनीतिज्ञका पदिय स्वार्थका लागि बहुसंख्यक जनताहरुको जीवन अस्तव्यस्त हुनु नेपालको हकमा नौलो मान्न सकिन्न। शान्तीक्षेत्र मानिएको विद्यालय र स्वास्थ्य क्षेत्रलाई पनि लक्षित गरि गरिने जूलूस-सभाको कारणले गर्दा युवाहरुमा राजनीतिप्रती वितृष्णा जागेको छ र अदुर्दर्शी राजनीतिक नेतृत्वकै कारणले उनिहरु विदेश पलायन हुन बाध्य भएका छन् ।

अब नेपालमा हडताल कसरी गरिन्छ भन्ने सन्दर्भमा चर्चा गरौं । प्राय जसो समूह र पार्टीहरु आफ्नो स्वार्थ अनुरुप काम नभए चक्काजाम र सवारी साधन तोडफोडमा उत्रिहाल्छन् । महत्वपूर्ण कुरा त के छ भने विरोध कार्यक्रम संचालन गर्न व्यस्त सडकको प्रयोग गरिने चलन रहेकोले ट्राफिक जाममा परि एम्बुलेन्समै विरामीको ज्यान गएको उदाहरण त हामीमाझ धेरै छन् । विद्यार्थी परीक्षा केन्द्रमा समयमा नपुगेको कारणले परीक्षाबाट बन्चित हुनुपरेको,कर्मचारीहरु कार्य क्षेत्र मा समयमा नपुग्ने गरेको र जामकै कारणले जहाज छुटेका दृष्टान्त गनेर साध्यै छैन।

विरोधकै नाममा शिक्षालयहरु बन्द गरि विद्यार्थीको पढाई अन्योलमा पार्ने नियत अहिलेको उच्च राजनितीक पार्टीहरुमा व्याप्त छ। बाल दिवसकै दिन बाल शोषण गैरकानुनी भन्ने नेतृत्वले नै आफ्नो भाषण कार्यक्रममा स्कुले बालबालिकालाई मञ्च निर्माण र पर्चा वितरण गर्न प्रयोग गरेका घटनाहरु धेरै छन् । केही दिन अघिमात्र बुटवलमा बलात्कार विरुद्धको आन्दोलनका लागि भनी बोलाएर पार्टीको झण्डा बोक्न लगाउदा विद्यार्थीहरु प्रतिकारमा उत्रिएको श्रव्यदृश्य सामाजिक संजालमा भाइरल भएको थियो। यसबाट के प्रष्ट हुन्छ भने दलीय र ब्याक्तिगत स्वार्थका लागि जनतालाई गुम्राहामा राखेर उनिहरुको दुरुपयोग गर्ने प्रवृत्ति हावी छ। विरोधको शैली यस्तै परम्परा भएका कारणले नै सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भै घाइते हुने र कति पय अवस्थमा ज्यानै जाने जोखिम रहन्छ।

भाषणको समयमा एक पक्ष अर्को पक्षमाथी नियन्त्रण राख्न तल्लो स्तरको गालीगलौजमा उत्रिने गरेको बाटै उनिहरु कतिको चेतनशील छ भन्ने अडकल लगाउन सकिन्छ। सामाजिक सद्भाव खल्बलिने र सार्वजनिक रुपमै धम्किपुर्ण र अपाच्य शब्दावली प्रयोग गर्नुको विकल्प अहिलेका विरोधकर्ता र भाषण गर्नेहरुले भेटाएका छैनन् । एकाअर्काको चरित्र हत्या गर्ने किसिमका अभिव्यक्तिले नै द्वन्द र अशान्ति निम्त्याउछ, यो उनिहरुले बुझ्नुपर्ने कुरा हो ।

यसको ठीक विपरीत शिक्षित र चेतनशील युवाहरुले गर्ने प्रदर्शनको शैली फरक रहेको छ। यसले नेपालमा बिस्तारै प्रभाव पार्दै गरेको पाउन सकिन्छ। भारतलाई ब्रीटिश उपनिवेशबाट मुक्त गराउन महात्मा गान्धीले अपनाएको सत्याग्रह नेपालमा पनि अभ्यास गर्न थालिएको छ। सत्याग्रहले अरु क्षेत्रमा असर नगरी सम्बन्धित निकायमा मात्र दबाब पार्ने हुँदा यो तरिका प्रभावकारी देखिएको छ। नेपालमा भएका सफल सत्याग्रह आन्दोलनमा इनफ इज इनफ र डाक्टर गोविन्द केसीको आमरण अनशनलाई लिन सकिन्छ। यी आन्दोलनमा सरकार पटकपटक लचिलो बनेर नागरिकका मागहरु पूरा गर्न प्रतिबद्ध भएको थियो। आमरण अनशनकै कुरा गर्दा नेपालमै चर्चित अधिकारी दम्पतीको सन्दर्भमा भने बाबू नन्द प्रसाद अधिकारी अनशनकै क्रममा मृत्युवर्ण गर्न बाध्य भए। यसमा सरकार लाचार भएको कारणले अझैसम्म यश घटनाको निष्पक्ष छनविन हुन सकिरहेको छैन।

वर्तमान समय भनेको सूचना र प्रविधिको युग हो, र यसैको प्रयोग बाट हामी विरोधको भौतिक स्वरुपलाई सामाजिक संजालका मार्फत भर्चुअल आन्दोलनमा रुपान्तरण गर्न सक्छौं । यौन हिंसाविरुद्ध भर्चुअल रुपमा चलाइएको  अभियानले विश्वभर चर्चा कमाएको छ र यसले शक्ति र पदको आडमा उच्च पदस्थ ब्यक्तिहरुले कसरी उत्पीडनलाई प्रशय दिइरकेका छन् भन्ने कुरा उजागर गरेको छ।

नेपालमा पनि भौतिक हडतालका कार्यक्रमलाई सामाजिक संजालको प्रयोगबाट प्रस्तिस्थापन गर्न सकिन्छ। शिष्ट र सभ्य भाषामा विभिन्न लेखहरु लेखेर पीडक र अन्यायविरुद्ध नागरिकलाई एक बनाउने र सत्यतथ्य सार्वजनिक गर्न फेसबुक ,ट्विटर र युटुब गतिलो अस्त्त बन्न सक्छन् । चेतनामूलक श्रव्यदृश्य सामग्रीको माध्यमबाट जनतामा चेतना फैलाउने र असंवैधानिक(अप्रजातान्त्रिक कदमको विपक्षमा भर्चुअल माध्यमबाट ऐक्यबद्धता जनाउन प्रेरित गर्न सकिन्छ। भर्चुअल आन्दोलनको एउटा मुख्य फाइदा यो हो कि यहाँ कसैको समय दिनभर व्यर्थ खेर जाँदैन र सिर्जनशील बन्न यसले जो कोहिलाई प्रोत्साहन गर्छ। यो अन्तरक्रियात्मक हुने भएकाले आफ्ना धारणाहरु खुलारुपमा राखेर र सम्बन्धित निकाय वा ब्याक्तीको पेज प्रोफाइल अनफलो र डिस्लाइक गरेर पनि उनिहरुमा नैतिक दबाब सिर्जना गर्न सकिन्छ। यसका अतिरिक्त सडक नाटक,नृत्य र साङ्केतिक तस्वीरहरुको प्रयोग गरेर पनि हामी हिंसात्मक आन्दोलनका जोखिमलाई न्यूनीकरण गर्न सक्छौं ।
अहिलेको राजनीतिक नेतृत्वले युवामा कुसंस्कारको रङ भरी हडताल,सभा र आन्दोलनको लागि उक्साइरहेका छन् । अब आउने अर्को पुस्तामा पनि यहि आचरण हावी हुन्छ अनि हामीले परिस्कृत राजनीति कहिल्यै पाउदैनौँ । युवाहरुको समय, सामर्थ्य ,सिर्जनशीलता यति सस्तो हुनुहुँदैन । विसंगति र विकृतिविरुद्ध बोल्न भौतिक आन्दोलनको विकल्प निर्क्यौल गर्ने नेतृत्व युवाले नै लिनुपर्छ। अबका आन्दोलन झडप र हिंसा रहित ,सन्देशमुलक र अदितिय हुनुपर्छ। यसो भइदिनाले दुवै हातमा लड्डु भनेझैं एकातर्फ शान्ती सुरक्षा कायम रहन्छ,अर्थतन्त्र चलायमान रहन्छ, सर्वसाधारणले सास्ती खेप्नु पर्दैन भने अर्कातर्फ नागरिकका जायज मागहरु पूरा गर्न देशभरबाट दबाब सिर्जना गर्न सकिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार