दाहाल -नेपाल समुहले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सो समुहको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

ओलीले पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको समुहको ठहर छ ।

प्रतिनिधि सभा विघटन गरेको भन्दै यसअघि नै दाहाल-नेपाल समुहले पुस ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएको थियो ।

शुक्रवारको बैठकले महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको रावलले बताए । बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ ।

त्यस्तै बैठकले सरकारविरुद्ध माघ १६ गते काठमाडौं शक्ति प्रदर्शन गर्ने निर्णय गरेको रावलले बताए । देशका अन्य भागमा यसअघि नै तय भएको बिरोध कार्यक्रमलाई शसक्त ढंगले अघि बढाउने उनले जानकारी दिए । बैठकले समसामयिक राजनीतिक परिस्थितिबारे पाँचबुँदे प्रस्ताव पनि पारित गरेको छ ।

प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतद्वारा मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिइएको छ ।

भारतीय मिडीया जी न्युजलाई अन्तर्वार्ताका साथै सगरमाथाको भ्रमणको प्रवन्ध गराइनुका साथै सगरमाथाको नाम परिवर्तन गर्ने अभियाननै चलाउदा पनि सरकार मौन रहेको भन्दै बैठकले भत्र्सना गरेको रावलले बताए ।

त्यस्तै सरकारले सरकारी साधन र श्रोतहरुको दुरुपयोग गरिरहेको, प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रुपमा सरुवा गर्ने काम गरिरहेको तथा सरकारी सञ्चार माध्यमहरुलाई लोकतन्त्रको मूल्यमान्यता बिपरित सञ्चालन गरेको भन्दै स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन पनि बैठकले माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार