राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र एकता दिवस

  नारायणप्रसाद न्यौपाने


समाजमा नबुझेको व्यक्तिलाई बुझाउन सजिलो छ, तर बुझेर पनि बुझ पचाउनेलाई कहिल्यै बुझाउन सकिदैन । अनि, त्यस्तालाई बुझाउने प्रयत्न गर्नु पनि व्यर्थ नै हुन्छ । सबैले इतिहासबाट नै पाठ सिक्ने हो । समाजमा इतिहास भनेको के हो ? भनेर बुझ्न नखोज्नेले अरुलाई पनि बुझाउन चाहदैनन् । ठिक यस्तै भएको देखिन्छ, नेपाली राजनीतिक बृत्तमा ।

पृथ्वीनारायण शाह राष्ट्र निर्माण गर्ने एक कुशल स्रष्टा थिए । उनी नेपालका युग पुरूष थिए । इतिहासका पानाहरुमा लेखिएका यस्तै पाठहरु शिक्षकले पढाउँदै गए । शिक्षालिने व्यक्तिहरुले पनि आफू पछाडिका सन्ततिहरुलाई त्यसैगरी नै पढाउदै गइयो । राष्ट्रको उत्थानका निमित्त राष्ट्रप्रमुखको भूमिका अहम् रहेको हुन्छ । राष्ट्रप्रमुख दुरद्रष्टा बनेका हुन्छन् । राष्ट्रको माटोलाई विभाजन गरी अलग अलग गर्न कहिल्यै चाहदैनन् । देशलाई अंशबण्डा गर्न रुचाउदैनन् भन्नेकुरा यिनै पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्यमा विभाजित रहेको मुलुकलाई यौटा मालामा उनेर नै देखाएका थिए ।

पृथ्वीनारायण शाहले विभिन्न क्षेत्रमा विभाजित भएर छरिएको यो मुलुकलाई आफ्नो बुद्धि र विवेकको सहाराले सिङ्गो राष्ट्र बनाउने अभियानमा लागे । त्यसैले उनलाई आधुनिक नेपालका निर्माता एवं जन्मदाता भन्दछौ । उनले सम्पूर्ण कार्य आफूले नसके पनि एकीकरणको अभियान बहादुर शाहको पालामा गएर नै पूर्ण भएको थियो । तर, एकीकरणको थालनी उनै पृथ्वीनारायण शाहबाट नै भएकाले उनलाई आधुनिक नेपालका निर्माता भन्ने गरिन्छ ।

पृथ्वीनारायण शाहले शासन गर्नुभन्दा अघि नेपाल स–साना राज्यमा विभाजित थियो । त्यतिबेला काठमाण्डौ उपत्यका पनि कान्तिपुर, पाटन र भादगाँउ गरी तीन राज्यमा बाडिएको थियो । अनि काठमाण्डौं बाहिर पश्चिममा स–साना वाइसे–चौवीसे राज्यमा विभक्त थिए । पूर्वतिर मकवानपुर, चौदण्डी र विजयपुर अनि वल्लोकिरात, माझकिरात र पल्लो किरातजस्ता नामले विभाजित थिए । यी सबै राज्यलाई एक सूत्रमा बाँधी एकीकरणको जग हाल्ने काम पनि यिनैले गरेका थिए । अब, अहिले मुलुकमा गणतन्त्र आयो भन्दैमा के विगतको इतिहास नै बिर्सिदिने ? इतिहास निर्माण गर्नेलाई के राज्यले स्मरण गर्नु पर्दैन ? पहिलेदेखि मान्दै आएको यो एकतादिवस मनाउँदा के बिग्रन्छ र ? विदेशीको गुलाम बनेर देशमा राजनीति गर्दा केही नहुने र सच्चा गणतन्त्रवादी भइने । अनि, राष्ट्र निर्माता भनेर सयौंवर्षदेखि मान्दै आएको एकता दिवसलाई यौटा उत्सवका रुपमा मान्नै नहुने, किन ?

उनले आफ्नो जीवनको अन्तिम अवस्थामा दिएको दिब्योपदेशको सही रुपमा कार्यान्वयन भए मात्रै पनि नेपाल कति सुन्दर र समृद्धशाली बन्न सक्ने थियो । अहिलेसम्मका कुनै पनि शासकहरु त्योभन्दा पृथक रुपमा रहेर नीति निर्देशन गर्नसक्ने व्यक्ति राज्यले अहिलेसम्म जन्माउन सकेको प्रमाणित हुन सकेको छैन । आफ्नो बाटो बनाएर हिँड्न सक्ने खुबी कसैमा देखिएन । देखियो त केवल उनैले बनाएको बाटोलाई पछ्याउन खोज्ने, तर विदेशीको आदेशबिना केही पनि गर्न नसक्ने ।
पृथ्वीनारायण शाह दूरदर्शी राजा थिए । उनले राष्ट्रका नाममा दिएको दिव्योपदेश दिएका थिए । जसलाई अहिले पनि पूर्ण रूपमा पालना गर्ने हो भने नेपाल एक समुन्नत र समृद्धशाली राष्ट्र बन्न सक्दछ । उनले उपदेशमा भनेका थिए “नेपाल दुई ढुङ्गा वीचको तरुल हो” यी दुवै देशसँग कस्तो सम्बन्ध राख्नुपर्छ भन्नेकुरा समेत उल्लेख गरेका थिए । आज आएर त्यसले पुष्टि गर्दछ । दुबै देशसँग मित्रताको भाव राखेर अगाडि बढ्न सक्नुपर्छ । अन्यथा एउटालाई काखी च्याप्ने बित्तिकै अर्कोले निउ खोज्न थालेको हुन्छ । उनले बुझेर नै नेपाललाई दुई ढुंगा बिचको तरुल भनेका थिए । यौटा दुरद्रष्टा नेतामा हुनुपर्ने गुण उनमा थियो भन्न सकिन्छ ।

त्यसैगरी राज्य सञ्चालन गर्ने कर्मचारी वर्ग हुन ् । देशका कर्मचारीमा भ्रष्टाचार मौलाउन नपाओस भन्दै “घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन” जनताको सुख सुविस्तामा राज्यले बढी ध्यान दिनुपर्छ भन्नेकुरा उनले राखेका थिए । यसले पनि प्रमाणित गरेकै छ । देशमा कति भ्रष्टाचारले जरो गाडेको छ भन्नेकुरा सम्पूर्ण नेताहरुलाई जानकार छ । उनीहरु यसबारेमा केही बोल्नै चाहदैनन् । किनभने आफू पनि त्यसैको अंशियार बनेका छन् । उनीहरुको सबै रोजीरोटी त्यसैले चलेको छ । अनि, कसरी त्यसको बिरोध गर्ने ? यदि बिरोध गर्नैपर्ने भए पनि चर्को स्वरमा जनताका अगाडि भाषण गरेर तालिका पर्रा छुट्नेगरी शब्दहरु ओकलेका हुन्छन् । अनि, भित्रको सेटिङ मिल्छ “मैले पिटेझैं गर्छु, तँ रोएझैं गर” भनेजस्तै । अनि, कसरी देशमा विकास निर्माणका कार्यहरु दु्रतगति र स्वच्छ तरिकाले हुन सक्छ त ?

उनले आफ्नो दिव्योपदेशमा भनेका थिए । नेपाली कला, संस्कृतिको संरक्षण गर्नुपर्छ । यो एकताको आधार हो भन्दै धर्म र संस्कृतिको संरक्षणमा विशेष जोड दिएका थिए । हाम्रो समाजमा कति राम्रो मेलमिलाप थियो । समाजमा विभिन्न जाति, धर्म र भाषामा आबद्ध भएका बिच पनि कति राम्रो मेल थियो । एक आपसमा सद्भाव थियो । सामाजिक कार्यमा सबैका हातहरु फैलिएका हुन्थे । एकले अर्कोलाई सहयोग गर्ने परिपाटी नै बसेको थियो । एक आपसमा भाइचाराको सम्बन्धले जरा हालेको थियो । आज त्यो समाजबाट सबै हराएको छ ।

भनिएको छ ‘जब कुनै पनि गाउँ, समाज र राष्ट्रलाई ध्वस्त पार्नु छ भने सबैभन्दा पहिला त्यहाँको धर्म र संस्कृतिमा आक्रमण गर्नु ।’ नभन्दै जब यो देशमा गणतन्त्र स्थापनाका लागि भन्दै आन्दोलनका नाराहरु घन्कन थाले । गुट उपगुटमा समाजमा विभाजित हुन थाले । त्यसपछि प्रत्येक गाउँ गाउँमा राजनीति सल्बलाउन थाल्यो । अनि, यो राजनीति धर्मका नाममा हुन थाल्यो । जातिका नाममा हुन थाल्यो । भाषाका नाममा हुन थाल्यो । अनि, हुँदाहुँदा आफ्ना आफन्त र सम्बन्धका बिचमा पनि हुन थाल्यो । त्यसपछि यो राजनीतिले एक आपसमा मिलेको समाजलाई पनि ध्वस्त बनायो । विभाजित बनायो । समाजबाट आपसी भाइचाराको सम्बन्ध नै हरायो । समाजमा स्वच्छ राजनीति हराएर स्वार्थको राजनीतिले प्रश्रय पायो ।

त्यसपछि समाजभित्र एक आपसमा रगतको नाताभन्दा आस्थाको नाता बलियो बन्दै गयो । एकले अर्कोको जेजसरी भए पनि बिरोध गर्ने परिपाटी नै बस्यो । एकले अर्कोको अस्तित्व नै स्वीकार नगर्ने परिपाटी बन्यो । अनि, एकले अर्कोलाई उचाल्ने र पछार्ने परिपाटी बन्यो । समाजबाट विश्वासको वाताबरण नै हरायो । एक अर्कोमा सहयोगी भावना नै हरायो ।

त्यसैगरी दिव्योपदेशमा उनले भनेका थिए । खेतीयोग्य जमिनको नास नगरी त्यसभित्र आवासक्षेत्र बनाउन नहुने, यहाँका जडिबुटीको सही सदुपयोग गर्नुपर्ने, विदेशी सामान भन्दा स्वदेशी समानको प्रयोग बढी गर्नुपर्ने र उद्योग धन्दालाई प्रोत्साहित गर्नुपर्ने कुराहरू उल्लेख गरेका थिए । तर, खै आज खेतीयोग्य जमीन पनि हराउँदै गयो । विगतमा यहाँको उब्जनीले विदेशीलाई नै सहयोग गरेको यो हाम्रो मुलुक आज केवल विदेशीको मात्र मुख ताक्नुपर्ने अवस्थामा पुगेको छ । आखिर यो सबै कसले गर्दा भएको हो ? किन यस्तो भयो ? कसरी भयो ? त्यसका कमी कमजोरी हेरेर अगाडि बढ्नुपर्ने होइन र ? अनि, त्यसैगरी यो मुलुकमा स्थापित रहेका बिस, एक्काइसओटा उद्योगहरु सञ्चालनमा थिए । तिनीहरु किन हराएर गए ? कसरी हराएका हुन् ? के खोजीको विषय हुनु पर्दैन र ? सबै भागबन्डाको राजनीति गरेर नेताहरुले सकिदिने ? ती उद्योगहरुबाट विगतमा कति व्यक्तिले रोजगार पाएका थिए । उनीहरुको रोजी रोटी यही स्वदेशमा चलेको थियो । आज त्यो भागबन्डे राजनीतिले गर्दा देशबाट लाखौं युवा जनशक्ति विदेशीनु पर्ने बाध्यता रहेको छ । खाडीका मुलुकहरुमा लाखौं व्यक्तिले रगत र पसिना बगाउनु परेको छ । यी कारुणिक कथा र व्यथाले आज कुन चाहीँ नेताको हृदयलाई छोएको छ ? यो सबैको सिर्जनाकार को हो ? के, यसको खोजी गर्नु पर्दैन ?

हिजो राजनीतिमा लाग्दा दुई रुपियाको सूर्ती किन्न असमर्थ भएर अर्को साथीसँग मागेर खानुपर्ने बाध्यतामा रहेका नेताहरु आज फाइभ स्टार होटलहरुमा ब्रेकफाष्ट र डिनर खान्छन् । ह्विस्की र ब्राण्डीले नुहाउँन युरोप पुग्छन् । टाउको दुख्यो भने सिटामोल खान सिङ्गापुर र ब्याङ्कक पुग्छन् । अनि, अमेरिका पुगेर विश्राम गर्न तम्सिन्छन् । उनीहरुलाई आफ्नो देशमा उत्पादन भएको जनशक्तिमा कुनै विश्वास छैन । अनि, कसरी यो माटो र जनमानसप्रति माया र मोह बढ्न सक्छ त ? त्यसैले जेजसरी भए पनि यहाँबाट जतिसक्दो सोहोरेर होस् वा लुटेर होस्, जेजस्तो गरेर भए पनि विदेशी बैंकखातामा ढुकुटी जम्मा गर्नुमा नै नेताहरु उद्यत रहेका छन् ।

हिजो खुट्टामा लगाएको चप्पलको फिता चुडेर पटुवाको डोरीले बाँधेर हिँडाएका ती नेताहरु आज कारोडौंका गाडीमा शयर गर्छन् । आलिशान महलमा बास बस्न सफल भएका छन् । आखिर यो सबै सम्पत्ति कहाँबाट आयो त ? राजनीति गर्ने नेताको तलबभत्ता कति छ ? के त्यसले मात्रै यो सबै पुगेको छ ? होइन भने यी सबै कसरी भयो ? कहाँबाट आयो ? के यसबारेमा खोज र अनुसन्धान हुनुपर्दैन ? तर, यहाँ सबै सेटिङ्ग मिलेको छ । एकले अर्कोलाई बिरोध गरे पनि खानेबेलामा तलदेखि माथिसम्म, नेतादेखि कर्मचारीसम्म भागबन्डा मिलाइएको छ । नीति, नियम बनेपनि कागजमा सीमित छ । उनीहरुलाई त्यसले छुनै सक्दैन । अनि, त यो देश मात्र गरिबीले टाट पल्टिएको छ । मर्ने मरिरहेको छ । टाठोबाठो मात्र धनमाथि धनले चुलिदै गएको छ । यस्तो अवस्था रहेपछि कसरी देशले निकास पाउला ? अनि, जनताले राहत कसरी पाउने अवस्था होला ?
यो मुलुकमा स्वच्छ र पवित्र भावले लाग्ने हो भने दसजना व्यक्ति भए मात्र पनि पुग्छ । उदाहरणका निमित्त हिजो यो मुलुकमा लोडसेडिङलाई नेपाली जनताले अठार घण्टासम्म खप्न बाध्य भएका थिए । यौटा विज्ञ स्वच्छ र पवित्र भावले लाग्दा देशको कायापलट नै भयो । नेपाली जनताले राहतको अनुभूति गर्न पाएका थिए । अर्बौ ऋणले डुबेको प्राधिकरण ऋणमुक्त भएर पनि मुनाफामा जान सफल भयो । गरे के हुँदैन, भन्नेकुरा पुष्टि भएन र ? यौटा कुलमानबाट त्यत्रो फाइदा हुन सक्छ भने त्यस्तै दसजना कुलमान तयार भए देश कहाँ पुग्छ ? सबै भागबन्डे राजनीतिको खेलमा देश बर्बाद भो । तर, पृथ्वीनारायण शाहले आफ्नो दिब्योपदेशमा पुरस्कार दण्डको नीतिलाई अवलम्बन गर्न भनेका थिए ।

हाम्रा शासकहरुले जो चाकडीमा लिप्त छ, जो आफ्नो अस्तित्वलाई पनि बेच्न तयार हुन सक्दछ, जो दास बनेर लम्पसार पर्न सक्छ त्यस्ताको जत्थालाई नै पुरस्कार र सम्मान गर्ने परिपाटी बसाले । यहाँ बौद्धिक वर्ग लिलाममा बस्न पनि हिच्किचाएनन् । अनि, ‘आँखा लोभी, मन पापी’ भनेझैं चोरले चोरलाई नै खोजेजस्तो र भेट्टाएजस्तो भएपछि कसरी यो देशमा स्थिरता र शान्ति कायम हुन सक्छ ?

हाम्रा दुरदर्शी भनाउदा नेताहरुले मुलुकलाई सात राज्यमा भाग लगाए । तर, अझै नामाकरण गर्न सकेका छैनन् । बरु पञ्चायतले कति बैज्ञानिक तरिकाले देशलाई पाँच विकास क्षेत्रमा विभाजन गरेको थियो । त्यसैलाई राज्यका रुपमा लिदै आएको भए पनि केही हुनेवाला थिएन । तर, पञ्चायतले गरेको भनेर बिरोधका नाममा बिरोध नै गरिएकोजस्तो लाग्छ । नीति, नियम कागजमा बनाउने अनि, आफ्नो मानसिकता परिवर्तन गर्न नसक्ने हो भने अहिले यो गणतन्त्रको पो के काम छ र ? लुटपाट मच्चिएकै छ । तस्कर बढेकै छ । हत्याहिंसाका घटनाहरु दिन प्रतिदिन बढेकै छन् । आफ्ना र आफन्तलाई जोगाउने र लुकाउने परिपाटी राजनैतिक नेताहरुमा यथावत छ । उनीहरु आपसमा कुर्सीको मोहमा लिप्त छन् । त्यसको रक्षाका लागि विदेशीलाई गुहार्दै देशको हैसियतलाई नै उदाङ्गो बनाएर देखाएका छन् ।

तसर्थ यो मुलुकको हित र उन्नतिका खातिर अहिले पनि पृथ्वीनारायण शाहले दिएका उपदेशलाई कार्यान्वयन गर्ने हो भने सम्पूर्ण नेपालीको जीवनस्तर धेरै माथि उठ्न सक्ने थियो । नयाँ नेपालको निर्माण हुने आधारहरु छन् । त्यसैले पृथ्वीनारायण शाह सम्पूर्ण नेपालीका आदरणीय व्यक्ति हुन् । उनी नेपाल राष्ट्रका एकताका प्रतीक हुन् । उनले गरेका कार्य र उनले दिएका मार्ग निर्देशनलाई नियाल्दै सबैले उनको मुक्तकण्ठले प्रशंसा गर्नु पर्दछ । विभिन्न भाषा, जाति र वर्गका आधारमा विभाजित मुलुकलाई एक सूत्रमा बाँधी सबैको साझा फूलबारीका रूपमा उनैले प्रस्तुत गराए । त्यसैले राष्ट्रिय विभूतिका रूपमा रहेका पृथ्वीनारायण शाहको एकता दिवसका रुपमा स्मरण गर्दा उनीमाथि अन्याय गरेको ठहर्दैन कि ?

  • सुनवल- १२, नवलपरासी  , हाल, काठमाडौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार